Monday, July 26, 2010

‘दैनिक ८०० नेपाली कामको खोजीमा विदेशिन्छन्’

बेरोजगारीको समस्या छिट्टै संबोधन नगरिए विष्फोटक रुप लिने चिन्ता बढेको छपोहोरसम्म दैनिक ६०० का दरले देश छाड्ने नेपालीहरुको संख्या यसपाली ८०० नाघेको छ। उद्योग धन्दा, बन्द व्यापार सबै कुरा चौपट भएपछि हरेक वर्ष कामको खोजीमा निस्कने नेपाली युवाहरुमध्ये तीन चौथाई विदेश पुग्न थालेका छन्। प्रत्येक दुई मिनेटमा एकजना, एक घण्टामा ३३ जना र दैनिक ८०० जनाका दरले गएको एक वर्षमा झण्डै तीन लाख नेपालीले देश छाडे। वैदेशिक रोजगार विभागका महानिर्देशक मोहनकृष्ण सापकोटा भन्छन्, “यो वर्ष २९४,०९४ जना वैदेशिक रोजगारीमा गए। गत साल २१७,००० जना त्यसरी बाहिर गएका थिए।”
सीपको अभाव
त्यसरी बाहिर जानेहरुमध्ये तीन चौथाईसंग कुनै सीप नभएको सरकारी तथ्यांक छ। सीप भएकाहरुको तुलनामा उनीहरुले कमाउने रकम ज्यादै कम हुन्छ। विदेशिएका कुल नेपाली कामदारहरुमध्ये ७५ प्रतिशत संग कुनै सीप छैन। उनीहरुले शारीरिक श्रम पर्ने कामहरु गर्छन्। थोरै मानिस गएर धेरै कमाई गर्ने भन्दा नेपालीहरु धेरै गएर धेरै कमाई भइरहेको छ,” सापकोटाले बताए। हालसम्म भारत बाहेक अन्य देशमा कानुनी रुपमा गएका नेपालीहरुको संख्या १७ लाख रहेको रेकर्ड सरकारसंग छ। तर सरकारी अधिकारीहरुकै अनुसार रेकर्डमा नरहेका वा गैर कानुनी रुपमा विदेशिएका नेपालीहरुको संख्या अर्को १७ लाख जत्तिनै छ। अर्थात देशको जनसंख्याको १० प्रतिशत मानिसहरु कामको खोजीमा परदेशिएका छन्।
विकराल समस्या
शान्ति प्रक्रिया र संविधान निर्माणको जालोमा बेरिएको देशमा नौला उद्योगधन्दा, ठूल्ठूला लगानी हुन त परै जाओस्, भएका व्यापार व्यवसायसमेत बन्द हडतालको चपेटामा परेपछि बेरोजगारीको समस्या झन, झन बढिरहेको छ। विदेशिएका कुल नेपाली कामदारहरुमध्ये ७५ प्रतिशत संग कुनै सीप छैन। उनीहरुले शारीरिक श्रम पर्ने कामहरु गर्छन्। मोहनकृष्ण सापकोटा, महानिर्देशक, वैदेशिक रोजगार विभागजुन कुरा स्वयं सरकारी अधिकारीहरुपनि निर्धक्क स्वीकार्छन्। हुन त विदेशमा काम गर्ने नेपालीहरुले पठाउने गरेको वार्षिक अढाई खर्ब रुपियाँले अर्थतन्त्र धानेको छ। तर देशभित्र बेरोजगारीको समस्या सम्बोधन हुन नसक्दा अर्थतन्त्रलाई गम्भीर प्रभाव पारिरहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा जगदिशचन्द्र पोखरेलले बताए।“हाम्रो शिक्षा प्रणाली, विद्यमान आर्थिक संरचना र लगानीको वातावरणलाई एकैसाथ राखेर हेर्ने हो भने बेरोजगारीले अर्थतन्त्रलाई पारेको प्रभाव निकै गम्भीर देखिन्छ,” डा पोखरेलले बताए।
श्रम बजार
हरेक वर्ष चार लाख नेपाली युवाहरु कामको खोजीमा श्रम बजारमा पस्छन्। तर काम नपाएर ती मध्ये तीन चौथाईले परदेशिनुपर्ने वाध्यता छ। यो समस्याको विकरालपना केहि दिन अगाडि राजधानीमै देखिएको थियो। कोरिया जानको निम्ति चार हजार कामदारको खोजीमा दर्खास्त मागियो। बदलामा ४२ हजार युवाहरुले घामपानी सहेर घण्टौं लाइन बसेर निवेदन दिए। सबैको ध्यान राजनीतिक मैदानमामात्र केन्द्रित रहँदा बेरोजगारी समस्याको पहाडले देशलाई थिचेको कुरामा ध्यान नजानु गम्भीर चिन्ताको विषय बनेको छ।
बेरोजगारीको चित्र
दैनिक कामको खोजीमा विदेशिने नेपालीको संख्या- ८००
हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने नेपालीहरुको संख्या- ४ लाख
हरेक वर्ष विदेशिनेको संख्या- झण्डै ३ लाख
कामको लागि भारतबाहेक विदेशमा रहेका नेपालीहरुको संख्या- झण्डै ३० लाख

स्रोत: बीबीसी

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.