Thursday, October 21, 2010

लिबियामा ६७ कामदार बन्धक

होम कार्की
काठमाडौं, कार्तिक ५ - लिबियामा १८ दिनदेखि कामविहीन बनेका ६७ नेपाली कामदारलाई कम्पनीले बिहीबारदेखि बन्धक बनाएको छ ।
लिबियाको एकदेनिज रियाल स्टेट फर कन्स्ट्रक्सन एन्ड रियल स्टेट डेभलपमेन्ट कम्पनीमा कार्यरत ती नेपालीलाई थुनेर राखिएको हो । 'बिहीबार १२ बजेदेखि कम्पनीका अधिकारीले हामी बसेको क्याम्पको मुख्य गेटमा बाहिर निस्कन नपाउने गरी ताला लगाइदिए,' पीडित बृद्धि लिम्बूले फोनमा भने, 'हामी तीन जना भागेर तपाईंको सम्पर्कमा आएका हौं ।'
बाबुराम अधिकारी, बाबुराम भुजेल, सुवास ढुंगाना, बाबुलाल राई, गोपालप्रसाद भट्टराई, दीपक दाहाल, सोमराज पौडेल, मोहन धिमाल, वीरेन्द्र लिम्बू, यम खड्कालगायत ६७ नेपाली कामदारलाई बन्धक बनाइएको उनले जनाए ।
उनीहरूले सम्झौताअनुसार तलब र सेवासुविधा नपाएको भन्दै १८ दिन अगाडिदेखि काम रोकेका थिए । उनीहरू प्रत्येकले काठमाडौंस्थित सपोर्ट ह्युमन रिर्सज प्रालिलाई १ लाख ३० हजार रुपैयाँ तिरेर गत चैत २९ गतेअघि त्यता गएका थिए ।
पीडितहरूका अनुसार कम्पनीले खाना खुवाउनसमेत छाडेको छ । 'हामी निकै तनावमा छौं । काम गरेर सम्झौताअनुसार तलब र सेवासुविधा पाएका छैनौं,' उनले रुँदै फानमा भने, 'स्थिति निकै दयनीय छ । समस्या समाधान गर्न म्यानपावर पनि कुरा सुन्दैनन् । दैनिक कम्पनीका अधिकारीहरू आएर झन् मानसिक यातना मात्र दिन्छन् ।'
कम्पनीले फ्रि भिसा र फ्रि टिकटमा ल्याएको भन्दै तलब नबढाउने बताएको पीडितले जनाए । पीडित कामदारहरूले हाल दुई सय ५० लिबियन पाइरहेका छन् । उनीहरूले दुई साताअघिदेखि नै आफूहरूको उद्धार पहल गरिदिन सरकारसमक्ष अपिल गरे पनि सुनुवाइ भएको छैन ।
कामदार र कम्पनीबीच एक साताअघि वार्ता भए पनि आफ्ना मागबारे सुनुवाइ नभएको अर्का पीडित प्रकाश मगरले बताए । कम्पनीले तलब नबढाउने र स्वदेश फिर्न चाहने कामदार आफैंले टिकटको व्यवस्था गर्नुपर्ने बताएपछि उनीहरू झन् समस्यामा परेका हुन् ।
'यही अवस्थामा काम गर्दा र तलब लिँदा दुई वर्षमा पनि ऋण तिर्न सकिन्न,' एक लाख ५० हजार तिरेर गएका प्रकाश पौडेलले भने, 'हाम्रा परिवारलाई पाल्न र केही कमाउन आएका थियौं । तर पसिना मात्रै बग्ने भयो ।'
'नेपाली कामदारले उचित पारिश्रमिक पाउनुपर्छ भनी अन्तर्राष्ट्रिय मुलुकसँग श्रम सम्झौता नगरेकै कारण हामी ठगिएका हौं । सरकारले अध्ययन र सुरक्षाको ग्यारेन्टी नगरी कामदार पठाउन अनुमति दिएकाले हामी ठगिइरहेका छौं,' पीडितहरूद्वारा जारी सामूहिक विज्ञप्तिमा भनिएको छ, 'अहिले हाम्रो जीवन जोखिममा छ । यस्तो ठाउँमा विभिन्न पीडा र वेदनाको सिकार भएका छौं । यस्तो अवस्थामा सरकारलाई गम्भीर भइदिन पुनः हामी अपिल गर्छौं ।'
लिबियामा धेरै श्रम समस्या देखिन थालेपछि दुई महिनादेखि श्रम अनुमति दिन वैदेशिक रोजगार विभागले रोकेको छ ।

Kantipurnews.

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.