Friday, October 22, 2010

अतीतजीवी नेतृत्वः भविष्यमुखी युवा

प्रदीप ज्ञवाली
'माओत्सेतुङ ? तिनी ठूला नेता थिए रे, जसले हाम्रो देशलाई मुक्ति दिलाए । तर उनका बारेमा मेरा हजुरबालाई बढी थाहा छ । तेङस्याओपिङ ? उनी पनि महान थिए भन्ने सुनेको छु, जसले चीनलाई आधुनिकीकरणतिर डोर्‍याए । तर उनका सम्बन्धमा मेरा बा बढी जान्दछन् । मचाहिँ हुजिन्ताओलाई जान्दछु र मनपराउँँछु, किनभने उनले नै हाम्रो चीनलाई समृद्ध र महान बनाउनेछन् ।' भर्खरै चीन पुगेर फर्केका पूर्वसांसद आनन्द पोखरेलले आजका चिनियाँ युवाको मनोविज्ञानबारे यस्तो घतलाग्दो संवाद सुनाइरहँदा मलाई हाम्रो मुलुकमा बढिरहेको नेतृत्व र युवा मनोविज्ञानबीचको दूरीले घोत्लिन बाध्य बनायो ।
नेपाली काङ्ग्रेसका कुनै नेतासँग कुरा गर्नुस्, उनी सात सालबाट आफ्नो कुरा सुरु गर्छन् र आफ्नो पार्टीले 'तीनवटा क्रान्तिको सफल नेतृत्व गरेको' गौरवगाथा सुनाउँदै मख्ख पर्छन् । जेल, निर्वासन र आन्दोलनमा आफूले गरेको लगानीले उनको संवादको आधाभन्दा बढी हिस्सा ओगट्छ । कुनै एमाले नेतासँग बात मार्नुस्, पञ्चायती तानाशाही विरुद्धको आन्दोलन, भूमिगत जीवन र नौ महिने लोकपि्रय सरकारकै वरिपरि कुराहरू केन्दि्रत हुन्छन् । मदन भण्डारी र जनताको बहुदलीय जनवादको व्याख्या उनको कुराकानीमा छुट्दैन । अनि कुनै माओवादी कामरेडसँग कुराको मेसो झिक्नुस्, 'हाम्रो महान र गौरवशाली पार्टी'बाट कुराको श्रीगणेश हुन्छ र 'महान जनयुद्ध'को वरिपरि कुरा रिङ्गेको रिङ्ग्यै गर्छ । 'निश्चितै रूपमा आफू युद्धको नयाँ मोर्चामा रहेको' स्पष्टीकरण उनको कुरामा छुट्दैन र 'आफूहरूलाई धोखा दिइएमा जहाँसुकै बारुद बनेर पड्किन तयार रहेको' चेतावनी
बारम्बार पुनरावृत्त भइरहन्छ । अर्थात् हामी अतीतजीवी छौं ।
सात सालको परिवर्तन त्यतिबेलाको सन्दर्भमा महान थियो, जसले हामीलाई पहिलोचोटि आधुनिक विश्वका सामु नागरिक राष्ट्रको रूपमा स्थ्ाापित गरिदियो । छ्यालीस सालको आन्दोलन ऐतिहासिक थियो, जसले बहुदलीय प्रतिस्पर्धा,मानवअधिकार र नागरिक स्वतन्त्रतालाई स्थापित गर्दै नेपाललाई प्रजातान्त्रिक विश्व व्यवस्थाको अङ्ग बनाइदियो । यी आन्दोलन तत्कालीन सन्दर्भमा युगान्तकारी थिए र तिनले स्थापित गरेका कतिपय मूल्यहरू आज पनि सान्दर्भिक छन् । एघार वर्ष लामो हिंसात्मक आन्दोलन 'जनयुद्ध' थियो कि थिएन र त्यो 'महान' रह्यो कि रहेन, इतिहासको इजलासमा यो मुद्दा विचाराधीन छ । तर त्यो आन्दोलनले नेपाली समाजलाई जगैदेखि हल्लाइदिएको सत्य हो र आज प्राप्त उपलब्धिको निम्ति त्यसको पनि योगदान रहेको तथ्यलाई इन्कार्नु पूर्वाग्रही बन्नु हो ।
तर यी सबै आन्दोलनका सीमा थिए । तिनीहरूले नेपाली समाजको अर्थराजनीतिक समस्याको समुचित समाधान दिन सकेनन् । आफ्नै सीमाका कारण समयक्रममा यी आन्दोलन र परिवर्तनहरू विफल भए । सात सालले समाधान दिएको भए नेपाल त्यति नै बेला मुक्त भएका चीन, भारत र कोरियाको हाराहारी पुगिसकेको हुने थियो । छ्यालीस सालले राष्ट्रिय समस्याको पूर्ण निदान र उपचार गर्नसकेको भए हामी पनि दक्षिण अपिmका, फिलिपिन्स र इन्डोनेसियाकै समकक्षमा हुने थियौं । 'महान जनयुद्ध'ले समाधान दिएको भए 'जनगणतन्त्रको संविधान'को सट्टा लोकतान्त्रिक संविधान निर्माण गर्नुपर्ने र लडाकु समायोजन तथा पुनःस्थापनको यो कष्टसाध्य प्रक्रियामा छिर्नैपर्ने थिएन । त्यसो भएन र हामीले आन्दोलनको बेग्लै बाटो लिनुपर्‍यो ।
निरङ्कुश राजतन्त्र समाप्त पार्न रित्ता हात आन्दोलनमा उत्रिरहेको बेला, एक युगमा एकचोटी आउने संविधानसभा निर्वाचनमा मतदान गर्न लामबद्ध भइरहेको बेला र गणतन्त्र स्थापनाको खुसियालीमा मध्यरातसम्म सडकमा उल्लास मनाइरहेको बेला नेपाली युवाहरूको आँखामा बेग्लै सपनाहरू लहराइरहेका थिए । तर आज युवाहरूमा सर्वत्र असन्तुष्टि छ, आक्रोश छ, मोहभङ्गको चुनौतीपूर्ण सिलसिला प्रारम्भ भएको छ । नेतृत्व र युवापुस्ताको बीच ठूलो 'ग्याप' देखापरेको छ । युवाहरू आफूहरूलाई 'खालि उपयोगमात्रै गरिएको' बुझाइमा छन् । आफ्ना सरोकार, चिन्ता र हितलाई उपेक्षा गरिएको गुनासो उनीहरूमा तीव्र छ र ०६२/६३ ताका आकर्षणको विषय बनेको राजनीतिलाई फेरि 'फोहोरी खेल'को रूपमा बुझ्ने मनोविज्ञानको विकास भएको छ । हुन पनि तस्वीरका केही पाटा हदै निराशाजनक छन् । बेरोजगारी समस्या सुरसाको मुखजस्तो बढेको-बढ्यै छ । कोरियामा रोजगारीका चार हजार सिटका लागि भाषा परीक्षाको फारम भर्न राति बाह्र बजेदेखि लागेको ४२ हजार युवाको लाम, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन डेस्कअघि उभिएका खाडी र मलेसिया जाने दैनिक झन्डै ८ सय युवाहरूका उदास आँखा, सेना, प्रहरी या अनुसन्धानमा सिपाही बन्न या विद्युत, खानेपानी आदि संस्थानमा पियनको जागिरका लागि नेताबाट भनसुन गराइपाउन कुदिरहेको भीड- सबैले 'नयाँ नेपाल'का हाम्रा दाबीमाथि चोटिलो व्यङ्ग्य गरिरहेका छन् । शिक्षा झनै महङ्गो र स्तरहीन बन्दै गएको छ । सेवाग्राहीले पाउने सुविधा झनै कठिन र व्यवस्थामा झनै भद्रगोल थपिएको छ । एउटा हिंसाको शृङ्खला रोकिए पनि नयाँ ढङ्गको हिंसा बढिरहेको छ । युवाहरू नै त्यस्तो हिंसाको संवाहक पनि र निसाना पनि बनिरहेका छन् । भविष्यमाथि अन्योलका बादल यथावत छन् । भूमण्डलीकरण, आधुनिकीकरण र खुल्लापनले ल्याएको तीव्र प्रतिस्पर्धा, उपभोक्तावाद र सङ्क्रमणका बीच युवा आफूलाई झनै असुरक्षित, निसहाय र उपेक्षित महसुस गरिरहेका छन् ।तर उनीहरूको यो पीडा नेतृत्वको वार्तामा एजेन्डा बनेको छैन ।
निश्चय नै परिवर्तनको छोटो समयमा सबै समस्याको समग्र समाधानको अपेक्षा गर्न सकिँदैन । 'चमत्कार'को सपना हावादारी कुरा हो । यस्ता सपनाले मान्छेलाई आफ्नै बलबुतामा परिवर्तन गर्न सकिने कुरामा आशावादी र क्रियाशील होइन, कुनै अदृश्य शक्तिको जादुमयी भूमिकाको मुख ताक्ने बनाइदिन्छ । त्यसैले 'चमत्कार'को सपना देखाउनेहरूले युवामा झनै बढी निराशाको सञ्चार गरिरहेका छन् । तर कम्तीमा पनि घटनाक्रमहरू सही दिशातिर अघि बढिरहेको, हामीले ढिलै भए पनि प्रगति गर्दै गरेको र आज नभए भोलि, भोलि नभए पर्सि समस्याको समाधान हुने कुरामा विश्वास स्थापित गर्नसकेको भए कुरा बेग्लै हुन्थ्यो । तर हामी यहींनिर चुकिरहेका छौं ।
नेपाली राजनीतिका दुईवटै मुख्य 'स्कुल'मा सामाजिक-आर्थिक परिवर्तनबारे ठूलो भ्रम विद्यमान छ । 'उदार प्रजातन्त्र'मा विश्वास गर्ने काङ्ग्रेस स्कुलमा राजनीतिक स्वतन्त्रता नै मुख्य कुरा हो, सामाजिक-आर्थिक विकासका अवसर त बजार स्वयम्ले सिर्जना गर्छ भन्ने भ्रान्त दृष्टिकोण छ । त्यसैले त्यो स्कुलले सितिमिती सामाजिक- आर्थिक परिवर्तनका मुद्दालाई आन्दोलनको मुद्दा बनाउँदैन । सामाजिक-आर्थिक अधिकारलाई राजनीतिक अधिकार जत्तिकै र अझ कतिपय सन्दर्भमा त्योभन्दा बढी महत्त्वपूर्ण ठान्ने वामपन्थी स्कुलमा पनि अर्को भ्रम जब्बर रूपमा छ- अहिले राजनीतिक क्रान्ति पूरा गर्ने चरण हो, यो पूरा भएपछि मात्रै सामाजिक-आर्थिक परिवर्तनका विषयमा प्रवेश गर्न सकिन्छ । अझ 'ध्वंसपछि मात्रै निर्माण हुन्छ' भन्ने उग्रवामपन्थी स्कुलिङमा हुर्केकाहरू त अहिले चाहे मजदुर हितका चर्का नारामा होस्, चाहे राष्ट्रवादको आवरणमा- भएका सीमित उद्योगधन्दा, कलकारखाना र सम्भाव्य विद्युत परियोजनामा समेत निरन्तर अवरोध सिर्जना गरिरहेका छन् र मुलुकलाई आर्थिक रूपमा टाट पल्टिने अन्धकार दिशातिर धकेल्दैछन् । आज कतिपय पार्टीका नेता/म्यानपावर कम्पनीका संरक्षक या जग्गा दलाल बन्न पुगेका छन् । जबकि उनीहरूको भूमिका देशभित्रै रोजगारीका अवसर सिर्जना गर्ने, तत्काल विदेश जाने प्रवाहलाई रोक्न नसके पनि विदेश जाने युवालाई दक्ष या अर्द्धदक्ष सीपसहित पठाउने र प्राप्त रेमिट्यान्सलाई उद्यममा लगाउने सहजकर्ताको हुनुपथ्र्यो । उनीहरू जग्गा प्लटिङ गरेर कङक्रिटका पर्खाल खडा गर्ने होइन, कृषिको व्यवसायीकरणको पहलकर्ता हुनुपथ्र्यो ।
क्रान्ति, जनवाद या समाजवाद गन्तव्यमात्रै होइनन्, यात्रा पनि हुन् । क्रान्ति एकदिनमा पूरा हुने या कुनै घोषणा विशेषले सम्पन्न हुने परिघटना होइन । त्यसैले आजैदेखि सामाजिक-आर्थिक रूपान्तरणलाई राजनीतिक कार्यसूचीकै हाराहारीमा लैजानुपर्छ, तबमात्रै राजनीतिक रूपान्तरण सम्भव र दिगो बन्न सक्छ । यो कुरा बुझ्न र स्थापित गर्न नसक्नु विडम्बनाको विषय हो । आन्दोलन, निर्वाचन या युद्धमा सबैभन्दा बढी रगत-पसिना बगाउने युवाका मुद्दाहरू परिवर्तन उत्तर प्रणालीमा उपेक्षित हुनु गम्भीर चुनौतीको विषय हो । पहिले संविधान बनाऊ, त्यसपछि मात्रै तिम्रा कुरा सुनौला भन्नु, पहिले शान्ति प्रक्रिया टुङ्गिन देऊ, त्यसपछि मात्रै तिम्रा विषयमा ध्यान दिउँला भन्नु या पहिले हाम्रो सरकार बन्नदेऊ, अनि सबै कुराको समाधान गरिदिउँला भन्नु गलत कुरा हो ।
तपाईंले हिजो राणाशासन पल्टाउन महत्त्वपूर्ण भूमिका खेल्नुभयो होला । त्यसको लागि तपाईंको उचित कदर हुनुपर्छ, तर ती क्रान्तिकथाले आजका समस्याको समाधान दिँदैनन् । हिजो तपाईं पञ्चायत फाल्न ज्यान हत्केलामा राखेर लड्नुभयो होला । यसका लागि तपाईंलाई समाजले धन्यवाद दिनैपर्छ, तर त्यो इतिहास वर्तमानका चुनौतीलाई सामना गर्न पर्याप्त छैन । तपाईंले एम्बुस थापेर राज्यका सुरक्षाकर्मीका ठूलो सङ्ख्यामा ज्यान लिनुभयो होला या टाउकाको मूल्य तोकिएको तपाईं तिलस्मी ढङ्गले घेराउ तोडेर उम्किन सफल हुनुभए होला । त्यसको पनि समयक्रममा मूल्याङ्कन होला । तर 'जेलब्रेक' या 'ब्यारेकमाथिको सफल आक्रमण'का रोमाञ्चक प्रवचनले आजको समस्या टार्दैन । यहाँसम्म कि ०६२/६३ को आन्दोलनको शौर्यले मात्रै पनि वर्तमानका चुनौती थेग्दैन । त्यतिबेला १० कक्षा पढ्दै गरेको किशोर आज स्नातक पढ्ने भएको छ । त्यतिबेला पुलिसमाथि इँटा प्रहार गर्ने १३ वर्षे बालकले आज बालिग मताधिकार पाएको छ । उनीहरूको हकमा गणतन्त्रको सान्दर्भिकता त्यतिबेला मात्रै स्थापित हुनेछ, जतिबेला हामीले शिक्षा, स्वास्थ्य, रोजगारी, अवसरमा समान पहुँच, खेलकुद, मनोरञ्जन र व्यक्तित्व विकासको सहज वातावरण सुनिश्चित गर्न सक्छौं । अन्यथा निराशा र कुण्ठाले ग्रस्त युवाहरू अरू कसैको आह्वानमा त्यसैगरी ढुङ्गा हान्न हिँड्नेछ । कसैले क्रान्ति र बन्दुकका चर्का कुरा गरे त्यतै लहसिएर मर्न-मार्न तयार हुनेछ ।
दुर्भाग्यको विषय- हामी कहिल्यै पनि युवाहरूको यो मनोविज्ञानबारे गम्भीर छलफल गर्दैनौं । उच्चस्तरीय वार्तामा यस्ता विषय कहिल्यै एजेन्डा बन्दैनन् । युवाहरू 'टेकन फर ग्रान्टेड'जस्ता भएका छन् । आफूहरू उपेक्षित भएको अनुभूति गहिरिँदै गएका युवामा नेतृत्व, राजनीति र समग्र स्थितिप्रति नै असन्तुष्टि बढ्दो छ । तर नेतृत्व अतीतको गौरवगाथाको खोलभित्र कछुवाजस्तै खुम्चिरहेको छ, वर्तमानका प्रश्न र भविष्यका चुनौतीप्रति प्रायः बेखबर छ ।अतीतजीवी नेतृत्व र भविष्यमुखी युवाबीच विस्तारै पर्खाल खडा हुँदै गइरहेको छ ।
यो लेख कान्तिपुरबाट साभार गरिएको हो।

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.