Thursday, May 6, 2010

-कामदार कोषबाट मन्त्रीको विदेश सयर

कन्तिपुरबाट प्रकाशित समाचार - काठमाडौ, मंसिर १४ - विदेशमा काम गर्न जानेबाट उठाइएको कल्याणकारी शुल्कको एक करोड रुपैयाँ खर्चेर श्रममन्त्रीसहितका विशिष्ट पदाधिकारीले विदेश भ्रमण गरेका छन् । कामदारबाट सुरुमा ५ सय र हाल हजार रुपैयाँ उठाइने गरेको कोषमा दुई वर्षमै २५ करोड जम्मा भइसकेको छ । 'वैदेशिक रोजगार प्रवर्द्धन गर्न' भन्दै श्रममन्त्रीको नेतृत्वमा विभिन्न टोलीले विदेश भ्रमण गरी एक करोड सिध्याएको हो ।
'आर्थिक मन्दीले नेपाली कामदारलाई परेको असर र रोजगारको नयाँ अवसर खोज्न विदेश जाँदा रकम खर्च भएको हो,' वैदेशिक रोजगार प्रवर्द्धन बोर्डर्का कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाले कान्तिपुरसँग भने ।
हालका श्रममन्त्री मोहमद अफ्ताव आलम र अघिल्लो सरकारका श्रममन्त्री लेखराज भट्टले यो रकम सकेका हुन् । गत वैशाखमा भट्टको नेतृत्वमा कतार, साउदी अरब र यूएईको अध्ययन गर्न एउटा टोली गएको थियो भने त्यसपछि आलम इजरायल, जापान, गि्रसलगायतका मुलुक घुमिसकेका छन् । त्यसमध्ये इजरायल भ्रमण मन्त्रिपरिषदको अनुमतिबिना गएकाले विवादित बनेको थियो ।
'कामदारको मृत्युमा निजको शव ल्याउन वा दुर्घटना परेमा उपचार गर्नका लागि उपयोग हुनुपर्ने कोषको रकम विदेश भ्रमणमा दुरुपयोग भइरहेको छ,' श्रममामिला विज्ञ गणेश गुरुङले भने । स्रोतका अनुसार श्रम मन्त्रालयका फुटकर खर्चसमेत कोषबाटै भुक्तानी गर्न थालिएको छ । बोर्डका अध्यक्ष श्रममन्त्री हुन् । एक कर्मचारीले भने, 'कतिसम्म भने मन्त्रीले पाहुनालाई खुवाएको चियाबिस्कुटको समेत बिल आउन थालेको छ ।' वैदेशिक रोजगार ऐनअनुसार कामदारको सुरक्षाका लागि गठित कल्याणकारी कोष स्थापनाको दुई वर्षसम्म पनि कामदार सुरक्षाका कुनै कार्यक्रम आएको छैन । 'कोषमा सरकारका तर्फबाट पनि रकम जम्मा गर्नुपर्ने प्रावधान छ,' गुरुङले भने, 'तर सरकारले पैसा जम्मा गर्नु त कता हो कता मामाको धन फुपूको श्राद्धझैं पो गर्न थालेको छ ।
'ऐनअनुसार कोषको रकमबाट विदेशबाट फर्केका कामदारका परिवारको शैक्षिक विकास, स्वास्थ्य उपचारमा सहयोग, महिला कामदारका लागि सुरक्षित गृहको र तिनका बालबच्चाका लागि शिशुस्याहार केन्द्र सञ्चालन, वैदेशिक रोजगारसम्बन्धी जनचेतना र बोर्ड सञ्चालन गर्ने व्यवस्था छ ।
कोषबाट हालसम्म करिब पाँच करोड खर्च भइसकेको कार्यकारी निर्देशक देवकोटाले बताए । उनका अनुसार दुई सय ३८ मृतकका परिवार, आर्थिक मन्दीबाट फर्केका दुई सय ३३ कामदार, अंगभंग भएका १२ कामदारलाई क्षतिपूर्ति, अभिमुखीकरण तालिम लिएका ९ सय ३९ महिलालाई सात सय रुपैयाँका दरले सोधभर्ना दिइसकिएको छ । मृतक परिवारलाई भने एक लाख रुपैयाँ क्षतिपूर्ति दिने गरिएको छ ।

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.